पुष, १० काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता एवं सांसद योगेश भट्टराईले अब छिट्टै नै वालुवाटारमा आफुहरुको समुहबाट चुनिएका प्रधानमन्त्री हुने बताएका छन् ।
हालका कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा केही दिन अघि मात्रै पर्यटनमन्त्रीबाट राजीनामा दिएका नेता भट्टराईले यस्तो बताएका हुन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाका पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समुह सडक पदर्शनमा उत्रिएको छ ।
प्रचण्ड–नेपाल समूहका नेताहरुको अगुवाईमा माइतीघरदेखि निर्वाचन आयोगसम्म भएको प्रदर्शनका क्रममा सम्बोधन गर्दै नेता भट्टराईले भने, ‘अब छिट्टै नै वालुवाटारमा प्रधानमन्त्री हाम्रो हुँदैछ ।’
आफुहरु सडकमा आइसकेको भन्दै उनले थपे, ‘संसद पुर्नस्थापनाको घोषणा नहुँदासम्म र वालुवाटारमा हामीले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक छाड्ने छैनौं ।’
‘सभामुखजी सदनको बैठक राख्नुस्’
नेता भट्टराईले संसदको बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरे ।
उनले दुई तिहाई सांसद एकातिर रहेको र जनमतलाई हेरेर सदन बोलाउने निर्णय लिन सभामुखलाई सुझाव दिएका हुन् ।
‘सभामुख जीलाई भन्न चाहन्छौं कि प्रतिनिधि सभा ज्युँदै छ । तपाईंले प्रतिनिधि सभाको बैठक राख्नुस् दुई तिहाई सांसद तपाईंले बोलाएको प्रतिनिधि सभाको बैठकमा आउन तयार छन् र त्यो जे निर्णय गर्नपर्छ प्रतिनिधि सभाले गर्छ’ नेता भट्टराईले भने ।
सर्वोच्च र निर्वाचन आयोगलाई खबरदारी
नेता भट्टराईले प्रतिनिधि सभा विघटनको विषयमा निर्णय लिँदा संविधान र कानुनको साथसाथै जनमतको ख्याल गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन् ।
‘सम्माननीय न्यायधिश ज्युहरुलाई भनेका छौं– संसद विघटन गर्न पाईंदैन् । प्रतिनिधि सभाको पुर्नस्थापना हुनैपर्छ भनेर हामीले माइतीघरबाट न्यायधिशहरुलाई भनेका छौं’ उनले भने ।
यसैगरी, नेकपा पार्टीको वैधानिकताका सन्दर्भमा निर्णय लिँदा पनि निर्वाचन आयोगले कानुनी व्यवस्थाको ख्याल गर्न उनको आग्रह छ ।
‘नेपाल कम्युनिस्ट पार्टीका बहुमत केन्द्रीय सदस्यहरु हामी हौं भन्दै छातीमा लेखेर ल्याएका छौं’ भट्टराईले भने, ‘निर्वाचन आयोग संवैधानिक आयोग हो । हामी आयोगलाई भन्दैछौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा अब वालुटारको नेकपा होइन् । यो सडकको नेकपा हो । त्यसकारण खबरदार निर्वाचन आयोगले तलमाथि गर्न पाइंदैन् । यो हसिया हथौडाको झण्डा, यो सूर्य चिन्हको झण्डा हाम्रो झण्डा हो । कदापि यसलाई तलमाथि गर्न पाइंदैन् ।’
प्रचण्ड–माधव नेपाल पक्षमा रहेका ३१५ जना केन्द्रीय सदस्यले शुक्रबार निर्वाचन आयोग पुगेर हस्ताक्षर बुझाएका छन् । निर्वाचन आयोगमा दर्ता हुँदा नेकपामा ४४१ सदस्य थिए ।
संवैधानिक निकायबाट समेत संविधानमाथि हस्तक्षेप हुन सक्ने भएकाले त्यो गर्न पाइँदैन् भन्ने संदेश दिन प्रदर्शन गर्नुपरेको उनको भनाई छ ।







