उधौली र तमु ल्होसार : चाडपर्वबाट बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने विश्वास

पुष, १५ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उनले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वागस उनले व्यक्त गरेकी छिन् ।

प्राकृतिक ऋतुचक्रसँग एकाकार भई मनाइने उधौली पर्वले प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा दिन सकोस् भनी राष्ट्रपतिले शुभकामना पनि प्रकट गरेकी छिन् ।
उधौली पर्वका अवसरमा पितृ र प्रकृतिपूजक किराँत समुदायभित्रका राई, लिम्बू, सुनुवार र याख्खाहरूले मानिस, जीवजन्तु तथा पशुपक्षी लेकबाट बेँसीतिर बसाई सर्ने समयमा पाकेको नयाँ अन्नबाली आफ्ना पितृलाई चढाउने र राम्रो फसलका लागि धन्यवाद दिँदै अन्नबाली फारोतिनो होस् भन्ने कामनासहित भूमिको पूजा गर्छन् । साथै यस पर्वका अवसरमा किराँत महिला र पुरुषहरू खुला आकाशमुनि ढोल र झ्याम्टा बजाएर चराचुरूङ्गी, जीवजन्तुको हाउभाउ एवं मानिसका विभिन्न क्रियाकलापको अनुकरण गर्दै सामूहिक रूपमा ‘साकेला’ नृत्य गर्ने परम्परा छ ।

यसैगरी राष्ट्रपति भण्डारीले गुरुङ समुदायको महान् चाड तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी हुन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भााव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वा स राष्ट्रपतिले व्यक्त गरेकी छिन्।
कोभिड१९ महामारीका कारण उत्पन्न असहज परिस्थितिमा पूर्वसावधानीका उपाय अवलम्बन गरी चाड मनाउन हुन उहाँले सबैमा आह्वान गर्नुभएको छ ।

यस पर्वले सम्पूर्ण नेपालीलाई भावनात्मक एकताका सूत्रमा आबद्ध गरी सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन प्रेरणा प्रदान गर्ने विश्वा स व्यक्त गर्दै राष्ट्रपतिले सबैको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
गुरुङ समुदायले आज विशेष हर्षका साथ पुरानो वर्षलाई बिदाइ गरी आजदेखि आफ्नो पारम्परिक नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसारपर्व मनाउँदै छन् ।

यस पर्वका अवसरमा गुरुङ समुदायले आफन्तजन र नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनाका साथै घाटु, सोरठी, चुड्का र कौडा जस्ता प्रचलित नृत्य नाच्दै रमाइलो गर्ने परम्परा छ ।