१६ भदौ, काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज (मंगलबार) थप ११ जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।
मंगलबार दिउँसो मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले कोरोना संक्रमणबाट आज महोत्तरीकी चार वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु भएको जानकारी दिए।
गौतमका अनुसार महोत्तरीकी ४ वर्षीया बालिका र ३७ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यसैगरी सिरहाका ६५ वर्षका एक पुरुष, पर्साका ५३, ८० र ६० वर्षका पुरुष, बाराका ६०, चितवनको ५३, काठमाडौँका ७० र ३५ तथा मकवानपुरका ५८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।
त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रवक्ता गौतमका अनुसार १२ हजार ८८ जनाको स्वाब परीक्षण गरिएकोमा एक हजार ६९ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार पाँचसय २९ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै चार सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार कोरोना संक्रमण मुक्त भई देशभरबाट सात सय ६८ जना डिस्चार्ज भएका गौतमले जानकारी दिए। उनका अनुसार अहिलेसम्म नेपालमा २२ हजार एक सय ७८ जनाले कोरोनालाई जितेका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार एक सय १२ छ।







