खोप लगाएपछि मृत्यु भएकाको कारण जान्न अनुसन्धान गरिँदै

चैत,२३ काठमाडौ ।कोरोनाविरुद्धको खोप लगाएपछि मानिसहरुको मृत्यु भएको खबर जिल्लाजिल्लाबाट आएपछि स्वास्थ्य मन्त्रालयले ती घटनाहरुको अनुसन्धान गर्ने भएको छ।

खोप लगाएपछि ८ जनाको निधन भएको र त्यसको कारणबारे अनुसन्धान हुन लागेको खोप पश्चात हुने अवान्छित घटना अध्ययन कमिटीका अनुसन्धान प्रमुख डा.धनराज अर्याल बताए।

‘खोप लगाएपछि मृत्यु भएको खबर आएको छ। हामी अनुसन्धान गर्दैछौँ। मृत्युको कारण अनुसन्धानपछि थाहा हुनेछ,’ डा. अर्यालले भने।

भारत सरकारले १० लाख डोज कोभिसिल्ड खोप उपहारमा दिएपछि नेपालले गत माघ १४ गतेबाट दशैभर खोप अभियान सुरु गरेको थियो। पहिलो चरणमा अग्रपंक्तिमा खटिएकालाई खोप लगाइएको थियो।

दोस्रो चरणमा सरकारले ६० वर्षमाथिको उमेर समूहमा खोप लगाएको थियो। हाल नेपालमा १६ लाख ७० हजारले पहिलो मात्रा खोप लगाइसकेका छन्।