भदौ २९, काठमाडौं ।
इजराइली सरकारले कोरोना नियन्त्रणका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ । त्यहाँ यहुदी नव वर्ष आउनै लाग्दा सोही दिनबाट लागू हुनेगरी सरकारले पुनः लकडाउन घोषणा गरेको हो ।
आउने शुक्रबारबाट सुरु भइ तीन साताको लागि प्रतिबन्धहरू लागू हुनेछन् । । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लकडाउन नगरे देशवासीले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै पुनः प्रतिबन्ध घोषणा गरेका हुन् ।
हाल त्यहाँ दैनिक ४ हजार हाराहारीमा संक्रमित भेटिन थालेका छन् । यद्यपि उनको सरकारभित्रैबाट यसको विरोध भइरहेको छ । यस क्रममा एक मन्त्रीले राजिनामा दिएका छन् । ती मन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिएका छन् ।
विशेषगरी त्यहाँका चाडपर्व नजिक आएकाले यसको विरोध भइरहेको हो । यहाँका पर्व परिवार र आफन्त मिलेर मनाउने प्रचलन भएकाले नागरिकले पनि नमान्ने वा उल्लंघन गर्ने सम्भावना पनि उत्तिकै छ ।
त्यहाँको आर्थिक अवस्था पनि खस्कँदो रहेकोले नागरिकले यस प्रतिबन्धलाई पूर्णतः पालना नगर्ने आँकलन गरिएको छ । संक्रमण व्यवस्थापनमा चुकेको भन्दै नेतन्याहुको आलोचना हुँदै आएको छ ।
हालसम्मको तथ्यांक अनुसार झन्डै ९० लाख हाराहारी जनसंख्या भएको इजराइलमा कोरोनाका कारण १ हजार १ सय ८ जनाको ज्यान गइसकेको छ । डेढ लाख भन्दा बढी संक्रमित भेटिएका छन् ।
यो संख्या अझै बढ्ने क्रम जारी छ । यस अघि मार्च महिनाको अन्तिमदेखि मे महिनाको सुरुआतसम्म पहिलो चरणको लकडाउन घोषणा गरिएको थियो । (एजेन्सी)







