शुक्र ग्रहको वायूमण्डलमा जीवको अस्तित्व हुनसक्ने सम्भावना

भदौ ३०, काठमाडौं ।
वैज्ञानिकहरूले शुक्र ग्रहमा जीव हुनसक्ने संकेत पाएको बताएका छन् । बेलायतको कार्डिफ विश्वविद्यालयका खगोलशास्त्रीहरूले शुक्रमा जीवको सम्भावना रहेको औंल्याएका छन् ।

शुक्रको वायूमण्डलमा फास्फिन ग्यास भेटिएको भन्दै उनीहरूले यस्तो दाबी गरेका हुन् । फस्फोरसको एक र हाइड्रोजनको तीन अणु मिलेर बन्ने यो ग्यास कम अक्सिजन भएको स्थानमा पाइने र केही प्रजातिका जीवलाई बाँच्न सक्ने वातावरण तयार गर्ने भएकाले त्यहाँको वायूमण्डलमा जीवन हुनसक्ने सम्भावना औंल्याएका हुन् ।

विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले नेचर एस्ट्रोनोमी नामक जर्नलमा प्रकशित गरेको एक आलेख अनुसार शुक्रको सतहभन्दा ५० किलोमिटर माथि यो ग्यास पाइएकाले जीवन हुनसक्ने संकेत गरेका हुन् । त्यहाँको वायूमण्डलमा कार्बनडाइअक्साइड ९६ प्रतिशत छ भने वायूको दबाब पनि पृथ्वीभन्दा ९० गुणा बढी छ ।

तापक्रम ४ सय डिग्री सेल्सियसभन्दा बढी भएकाले त्यहाँको सतहमा जीवनको अस्तित्व निकै कम मानिन्छ । तर सतहमा नभए पनि वायूमण्डमा जीव वा जीवाणू हुन सक्ने र यसको अध्ययन हुनुपर्ने उनीहरूको निष्कर्ष छ ।
(एजेन्सी)