असार, २३ पाँचथर । जेठ २९ गते राति पाँचथरको सदरमुकाम फिदिम स्थित जोरसालमा वृद्धको हत्या कसुरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सडक विभाग यान्त्रिक कार्यालय पाँचथरमा सुरक्षा गार्डमा कार्यरत जीव नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
फिदिम नगरपालिका ४ स्थित टेक बहादुर इङ्वा (लिम्बू)कोे घर भित्रै हत्या भएको थियो । प्रहरीले हत्या भएको करिव ४ हप्ता पछि हत्यामा संलग्न श्रेष्ठलाई पक्राउ गरी सार्वजनीक गरेको हो ।
लिम्बू र श्रेष्ठबीच जग्गाको निहुँमा समेत बारम्बार झगडा हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार उक्त दिन (हत्या भएको दिन) दिउसो खेतमा व्याड राख्न जादा पानी लगाउने विषयमा झगडा भएको थियो । सोहि दिन साझ श्रेष्ठ पानी लगाउन जाँदा मृतक लिम्बूले आफ्नो खेतमा पानी फर्काएको देखेको र मृतका लिम्बुकै घरमा गएर रिसको आवेगमा साथमा भएको वाम्फोक र फलामको सोतेले प्रहार गरी हत्या गरेको श्रेष्ठले स्वीकारेको अनुसन्धानबाट खुलेको प्र.नि विश्वकर्माले जानकारी दिए ।
प्रहरीले हत्यामा संलग्नलाई पत्ता लगाउन धरानबाट तालिम प्राप्त कुकुरसमेत ल्याएर अनुसन्धान गरेको थियो । तर, कुकुरले पनि हत्यारा पत्ता लगाउन सकेको थिएन । हत्याको अनुसन्धानमा प्रदेश प्रहरीको ब्युरो विशेष टोलि र जिल्ला प्रहरी कार्यालयको टोलि खटिएको थियो ।
वृद्ध हत्याकाण्डः कुलोको पानी खेतमा फर्काएको निहुँमा हत्या







