२५ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । बिहीबार धर्नापछि कोणसभा गर्नेक्रममा सर्वोच्च अदालत परिसरमा कानुन व्यावसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो ।
कोणसभापछि विज्ञप्ती निकालेर एशोसिएसनले प्रधानन्यायाधीशको ठाडो आदेशमा कानून व्यवसायी माथि अत्याधिक वल प्रयोग र हातपात भएको ठहर गरेको छ । र आगामी दिनमा शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नदोहोर्याउन चेतावनी दिएको छ ।
विज्ञप्ती मार्फत एशोसिएसनले भोलि शुक्रबार सर्वोच्च अदालतका सम्पूर्ण वेञ्चमा कुनै पनि मुद्धामा वहस पैरवी नगर्ने, वेञ्च वहिष्कार गर्ने जानकारी दिएको छ । साथै न्यायाधीशहरुलाई समेत प्रधान न्यायाधीश जबराले तोक्ने इजलासमा नवस्न आग्रह गरेको छ ।
यस्तो छ नेपाल बार एशोसिएसन प्रेश विज्ञप्ती
नेपाल बार एशोसिएशनले यहि २०७८ कार्तिक १४ गते देखि न्यायपालिकाको विकृति, विसंगती, विचौलिया, भ्रष्ट्राचारको पृष्ठपोषक प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणाको राजिनामा माग गरि निरन्तर शान्तिपूर्ण विरोध कार्यक्रम गरि आएकोमा प्रधान न्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको प्रयोग गरी २०४६ सालमा पञ्चायतको अन्त हुँदा ताका प्रतिकार समिति गठन गरि लोकतन्त्रप्रेमी न्यायप्रेमी जनता विरुद्ध प्रयोग गरेकै शैलिमा विभिन्न हतकण्डाहरु गरिआएको र आजको शान्तिपूर्ण विरोध सभामा प्रधान न्यायाधीशको ठाडो आदेशमा हतियार सहितका सुरक्षाकर्मीहरु अदालत भित्रै प्रवेश गराई शान्तिपूर्ण कार्यक्रममा रहेका कानून व्यवसायी माथि अत्याधिक वल प्रयोग र हातपात गर्दा हाम्रा कानून व्यवसायीहरु नेबाए पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य, नेबाए उपाध्यक्ष अधिवक्ता रक्षा वस्याल, नेबाए महासचिव अधिवक्ता लीलामणि पौडेल, नेबाए पूर्व केन्द्रिय सदस्य रमण कुमार कर्ण, अधिवक्ता मुकुन्द भटृराई लगायतका कानून व्यवसायीहरु घाइते हुनु भएको छ । प्रधान न्यायाधीशको यस्तो हर्कतको नेपाल बार एशोसिएशनले घोर निन्दा र भत्र्सना गर्दछ । यस्तो हर्कत भविष्यमा नदोहोर्याउन चेतावनी समेत दिन चाहान्छौँ । आफ्नै अदालत र कानून व्यवसायीबाट मात्र नभएर आम नागरिकबाटै वहिस्कृत प्रधान न्यायाधीशको विरोधमा नेबाए र आवद्ध सम्पूर्ण एकाईहरुले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने व्यहोरा जानकारी गराउँदै भोलि मिति २०७८।०७।२६ गतेका दिन सर्वोच्च अदालतका सम्पूर्ण वेञ्चमा कुनै पनि मुद्धामा वहस पैरवी नगर्ने, वेञ्च वहिष्कार गर्ने र माननीय न्यायाधीशज्यूहरुलाई समेत प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणाले तोक्ने वा तोकेका इजलासमा नवस्न र भोलि मिति २०७८।०७।२६ गते विहान ९ः३० वजे नै सम्पूर्ण कानून व्यवसायीहरुलाई नेबाएमा उपस्थित हुन समेत अपिल गर्दछौँ ।
अधिवक्ता लीलामणि पौडेल
महासचिव







