कात्तिक, २७ काठमाडौं । इन्टरनेटमा तहल्का मच्चाएको एउटा बेवारिसे कुकुर झण्डै ३० लाख रुपैयाँमा बिक्री भएको छ ।
जापानी शिवा इनु नश्लको उक्त कुकुर एक लाख ६० हजार चिनियाँ युआन अर्थात् झण्डै ३० लाख रुपैयाँमा लिलाम बिक्री भएको हो ।
डेंग डेंग नामको उक्त कुकुर चीनको राजधानी बेइजिङमा बेवारिसे अवस्थामा फेला परेको थियो । उक्त ८ वर्षीय कुकुरको मालिक पत्ता नलागेपछि बेइजिङस्थित अदालतले कुकुरलाई लिलामीमा बिक्री गर्न आदेश दिएको थियो ।
त्यसपछि उक्त कुकुरलाई अनलाइनमार्फत् सुरुआती न्यूनतम ७८ अमेरिकी डलर बराबरको मूल्य कायम गरेर लिलामीमा राखियो । तर डेंग डेंग खरीद गर्न चाहनेहरू यतिधेरै भए कि लिलाम बढाबढमा उसको मूल्य ३२० गुणा धेरै पर्यो ।
२४ घण्टामा लिलामको प्रक्रिया सकिने अपेक्षा गरिएकोमा थप पाँच घण्टा लम्बिएको थियो । लाइभ स्ट्रिमिंगमार्फत् भएको उक्त कुकुरको लिलामीमा एक लाख ६६ हजार दर्शकले चासो देखाएकोमा ४८० जनाले बोली लगाएका थिए ।
पछिल्लो समय लोकप्रिय बनेको क्रिप्टोकरेन्सी शिवा इनुसको नामसँग मिल्ने नश्ल भएको यो कुकुर जापानी सिकारी कुकुरको नश्ल हो । क्रिप्टोकरेन्सीसँगै पछिल्लो समयमा शिवा इनुस जातको कुकुरको माग पनि बढिरहेको छ ।
झण्डै ३० लाख रुपैयाँमा कुकुर खरीद गर्ने व्यक्तिको पहिचान खुलाइएको छैन ।
बीबीसी







