सर्वोच्चको गेटमा प्रधानन्यायाधीशका समर्थक र विरोधी आमुन्नेसामुन्ने

जबराको सम्पत्ति छानबिनको माग

२८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको गेटमा प्रधानन्यायाधीश जबराको समर्थक र विरोधी आमुन्नेसामुन्ने भएका छन् । आइतबार कानुन व्यावसायीहरु सर्वोच्चको मूलगेट भित्र कोणसभा गरिरहँदा जबराका समर्थकले ‘न्याय मार्न पाइँदैन, नेपाल बार एशोसियसन मुर्दाबाद’ भन्दै नारा लगाएपछि वातावरण केहीबेर तनावग्रस्त भएको थियो । तर, प्रहरीले स्थिति नियन्त्रण लिएका कारण कुनै अप्रिय घटना हुन पाएन र प्रधानन्यायाधीशका समर्थक र विरोधी आमुन्नेसामुन्ने मात्रै भए ।

जबराका समर्थकहरु केही बाइकमा थिए, बाइकमा हुनेहरुले बाइक उफारेर, हर्न बजाएर वातावरण विथोल्ने प्रयास गरे, बाइकमा नहुनेहरुले नाराबाजी गरे ।

थोरै संख्यामा रहेका जबराका समर्थकलाई प्रहरीले केही बेरमै तितरबितर ग¥यो । केहीलाई नियन्त्रणमा लियो । त्यसक्रमममा केही प्रहरी घाइते भए् । एक जना प्रहरीको नाकको डाँटीमा प्रदर्शनकारीले प्रहार गरेको मुक्काले लाग्दा औठीले कोतरेर रगत समेत निस्कियो ।

आन्दोलनरत कानुन व्यवसायीहरू झन आक्रोशित भए । त्यसपछि कोणसभामा बोल्नेहरुले आन्दोलन बिथोल्न ‘भाडाका टट्टु, भिजिलान्ते’ प्रयोग भएको बताए । ‘बिचौलियाहरू होस् गर, गुण्डाका नाइके राजीनामा दे, भाडाका टट्टु फिर्ता जा, गुण्डाका नाइके चोलेन्द्र मुर्दाबाद, भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, चोलेन्द्रका मतियार होसियार जस्ता नाराहरु लगाइए ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराका समर्थकलाई विचौलियाको संज्ञा दिँदै नियन्त्रणमा राख्न प्रधानन्यायाधीशलाई आग्रह गरे । ‘तपाईंका बिचौलिया नियन्त्रणमा राख्नुस् । घुसपैठ गराएर आन्दोलनलाई असफल पार्ने चेष्टा नगर्नुस्’ उनले भने, ‘ए विचौलियाहरू हो होस् गर् तिमीहरूको नाइकेलाई हामीले निकालिसकेका छौं भने तिमीहरूको केही लाग्ने छैन ।’ जबराका समर्थकहरुलाई घर जान उनले आग्रह पनि गरे ।

नेपाल बारका महासचिव लीलामणि पौड्यालले जबराका समर्थकहरूलाई ‘भाडाका भिजिलान्ते’को संज्ञा दिए । पाण्डे थरका व्यक्तिको नामबा प्रतिव्यक्ति २ हजार लिएर परिचालित भएकाहरु जबराको समर्थनमा देखा परेको भन्दै उनले ‘थानकोट कटाइदिने’ चेतावनी दिए । ‘भाडाका भिजिलान्तेहरू, घुसका पैसा खानेहरू खबरदार ! तिमीहरूलाई माइतीघरबाट मात्र होइन थानकोटबाट पनि हटाउन सकिन्छ, ख्याल गर’ पौड्यालले ।

नेपाल बारका उपाध्यक्ष ईश्वरी भट्टराईले प्रधानन्यायाधीश जबराको समर्थनको नाममा राष्ट्रिय झण्डाको दुरुपयोग गरिएको जिकिर गरे । ‘भाडामा प्रतिकार समूह बनाइयो । मुडभेड निम्त्याउने प्रयास भयो । राष्ट्रिय झण्डाको दुरुपयोग भयो । भ्रष्टाचार र घुसको पैसाबाट परिचालित हुनेहरु राष्ट्रिय झण्डा बोक्न योग्य छैनन्’ उनले भने ।

नेपाल मानव अधिकार आयोगकी पूर्वसदस्य समेत रहेकी अधिवक्ता मोहना अन्सारीले प्रधानन्यायाधीश जबराले नै आफुहरुको आन्दोलन भड्काउन खोजेको बताइन् ।

‘शान्तिपूर्ण आन्दोलनलाई जसरी प्रधानन्यायाधीशले विभिन्न माध्यमबाट बदनाम गर्ने गतिविधि गर्दै हुनुहुन्छ नेपाल बार कदापी विचलित हुनेछैन,’ उनले थपिन, ‘कमिसनको पैसाबाट भाडा र ज्याला दिएर हुल्याहाहरू पठाएर आन्दोलन भड्काउन खोजियो । चोलेन्द्र प्रधानन्यायाधीशका रुपमा रहेसम्म यो आन्दोलन र धर्ना जारी रहन्छ ।’

जबराका समर्थक र विरोधीबीच सडकमा मुडभेड हुन सक्ने आशंका बिहानै गरिएको थियो । आइतबार कानुन व्यावसायीहरुलाई सर्वोच्च परिसरमा प्रवेश दिनुको एउटा कारण यो पनि हो ।

एक अधिकारी भन्छन्, ‘कानुन व्यावसायी नै सर्वोच्च अदालत छिर्न नपाउने भन्दा राम्रो संदेश गएन । र प्रधानन्यायाधीशका समर्थकले माइतीघरमा कार्यक्रम गर्ने भनेकाले सर्वोच्च परिसर आउन सक्छन भन्ने आशंका हुने नै भयो । साथसाथै गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म कुरा पुगेको र सो अनुसार सर्वोच्च प्रशासनको अनुमतिमा आइतबार कानुन व्यावसयीहरुले सर्वोच्च अदालतभित्रै कोणसभा गर्ने वातावरण बनेको हो ।’

गत शुक्रबार आन्दोलनरत कानून व्यवसायीहरू सर्वोच्च अदालत भित्र छिर्न पाएका थिएनन् । सर्वोच्च छिर्न नपाएपछि उनीहरुले सर्वोच्च परिसरको मूल गेट अगाडि सडकमै कोणसभा गरेका थिए । तर, आइतबार सर्वोच्च परिसरभित्रै कोणसभा गर्ने वातावरण बनाउन कानुन व्यावसयाीहरु लागे । मुख्य रजिष्टारदेखि गृहमन्त्रीसम्मकहाँँ कुरा पु¥याए ।

सर्वोच्च अदालत बार एशोसिएसनका सचिव ऋषिराम घिमिरे भन्छन्, ‘प्रमुख रजिष्टारलाई स्पष्टै भनेका थियौं, प्रहरीलाई भनेका थियौं – नेपाल बारबाटै छिरेर सर्वोच्चको मुल गेट र चोर बाटो (वैकल्पिक गेट) मा पुगेर पुगेर कोणसभा गर्ने हो । प्रहरीले सर्वोच्च परिसरमा प्रवेश त दियो तर बीचतिरै रोक्न खोज्यो । तथापि हामी मुल गेट पुग्यौं, चोरबाटो बाट प्रधानन्यायाधीशको प्रवेश रोक्ने ठाउँसम्म जान प्रहरीले दिएन ।’

कोणसभा नै विथोल्ने प्रयास भएपछि आन्दोलन कानुन व्यावसायीहरु थप आक्रोशित भएका छन् । आइतबारको कोणसभाबाटै नेपाल बार महासचिव लीलामणि पौड्यालले भोलि (सोमबार)देखि सर्वोच्च केन्द्रित आन्दोलन गर्ने घोषणा गरे ।

‘घुस कमिसनको पैसा लिएर आएकाहरुबाट हाम्रो आन्दोलनलाई अपमान गर्न खोजियो, यसविरुद्ध हामी हरेक दिन यही गेटमा आन्दोलन गर्छौं । भोलि (सोमबार)देखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसरमै हुन्छ’ उनले भने ।

सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले अब प्रधानन्यायाधीश जबराको भूमिकालाई मान्यता दिने कुनै पनि कदम स्वीकार्य नहुने बताए ।

गत १४ गतेदेखि सर्वोच्च अदालतको सुनुवाई प्रभावित छ । राजीनामा नदिने प्रधानन्यायाधीशको अडानले न्याय प्रभावित भएको भन्दै न्यायाधीशहरु जबरासंग संयुक्र इजलास नबस्ने, अरु इजलास बस्ने कि भनेर छलफलमा रहेका बेला अध्यक्ष शाक्यले यस्तो बताएका हुन् । जबराले तोकेको इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरु १९ जना न्यायाधीशको बैठकबाट नियमावली संशोधन गर्ने र पेशी तोक्न गोलाप्रथा लागू गर्नु विषयमा छलफलमा छन् । तर, त्यस्तो निर्णय गरे आफुहरुलाई मान्य नहुने अध्यक्ष शाक्यले संकेत गरेका हुन् ।

सर्वोच्च अदालत परिसरमा धर्ना बसेका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता समेत रहेका शाक्यले भने, ‘यो ब्याक गियर नभएको आन्दोलन हो । उहाँको कुनै रोललाई मान्यता दिएर यो आन्दोलनलाई तुहाउन दिन्नौं ।’

जराको राजीनामा माग्दै जारी आन्दोलनलाई नेपाल बारले आइतबारदेखि देशव्यापी बनाएको छ । आइतबार ७७ वटै जिल्लाका ९० वटा बार इकाइमा धर्ना दिइएको छ ।

जबराको सम्पति छानविनको माग

अब जबराको राजीनाले नपुग्ने र पदच्युत गरेपछि सम्पति छानविनदेखि लागेका अन्य आरोपहरुबारे मुद्धा लिएर आउने चेतावनी कानुन व्यावसायीहरुको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब प्रधानन्यायाधीश राणाको सम्पत्ति नै छानबिन हुनुपर्ने माग गरे । राणाले न्यायिक नेतृत्वमा बसेर अकूत सम्पत्ति कमाएको उल्लेख गर्दै छानबिनको दायरामा ल्याउनुपर्ने श्रेष्ठको जिकिर थियो ।

‘उहाँको प्रवेश भनेको न्यायालयलाई थप भ्रष्ट बनाउने हो। अदालत न्यायको मन्दिर हो। तर उहाँले न्याय किनबेच गरेपछि हामी आन्दोलनमा आयौँ,’ श्रेष्ठले अगाडि भने, ‘चोलेन्द्रको राजीनामा मात्र होइन, सम्पत्ति छानबिन हुनुपर्छ। अब राजीनामाले पुग्दैन। न्याय किनबेच गर्ने बिचौलियाको छानबिन हुन्छ।’

अधिवक्ता गोविन्द बन्दीले थपे, ‘प्रधानन्यायाधीमाथि गम्भीर आरोपहरु लागेका छन् । ती आरोपहरु सत्य प्रमाणित भएको अवस्थामा ततकानुन अनुसार कारबाहीका लागि अगाडि बढ्नुपर्ने स्थिति देखिएको छ ।’

त्यस्तै सर्वोच्च बारका अध्यक्ष पुर्णमान शाक्यले धैर्यताको बाँध टुट्न लागेको उल्लेख गरे। उनले प्रधानन्यायाधीश मूल बाटो छाडेर चोर बाटोबाट पसेको आरोप लगाए ।