टेबुल नहुँदै संसदमा एमसीसीमाथि छलफल

९ फागुन, काठमाडौं । आइतबार प्रतिनिधिसभामा टेबुल नहुँदै एमसीसीमाथि छलफल भयो । उठेर विरोध जनाएपछि सभामुख अग्नि प्रसाद सापकोटाले सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलाई बोल्न समय दिए ।

सांसद गुरुङले दलहरूबीच राष्ट्रिय सहमति नभइ सदनमा एमसीसी पेस गर्ने कार्यसूची आएको भन्दै आपत्ति जनाए । धेरै विधेयकहरु पाइपलाइनमा रहेको भन्दै उनले एमसीसीमा रहेका प्रावधानहरु नसच्याइ अघि बढाउन नहुने धारणा राखे ।

‘एमसीसीमा गम्भीर प्रकारका राष्ट्रियहित प्रतिकूल प्रावधानहरु छन्, यसमा संशोधन गर्नुपर्छ, अनिमात्रै प्रक्रिया अघि बढाउन सकिन्छ भनेर हाम्रो पार्टीको धारणा छ,’ नेता गुरुङले राखे ।

त्यसपछि नेकपा एमालेकै सांसद भीम रावल बोले । ‘विदेशीको धम्कीमा नेपाली जनताको भावना कुल्चेर एमसीसी सम्झौता टेबल गर्नु गम्भीर आपत्तिको विषय’ भएको रावलको कथन थियो ।

नेता रावलको पश्न छ, ‘स्वतन्त्र नेपाली जनताको प्रतिनिधित्व गर्ने संसदमा दलहरुको सहमति विनै एमसीसी कसरी टेबल हुन्छ ? संविधानको धारा २७९ अनुसार यस्ता विषयमा संसदबाट अनुमोदन गर्दा दुई तिहाई बहुमत भनिएको छ । अन्यथा संघीय कानुन अनुसार भनिए पनि संघीय कानुन बनेको छैन । खै संघीय कानुन ? कुन कानुन अनुसार एमसीसी टेबल हुन्छ ?’

नेताहरु एमसीसी कार्यसूचीमा परेको भनेर विशेष समय मागेर विरोध गरिरहेका थिए । एमाले सांसदहरुको नारावाजी केही मथ्थर (अलिक सानो स्वरमा) थियो ।

सभामुखले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई बोल्न ५ मिनेट समय दिए । तर, उनले पाएको भन्दा धेरै समय लिए । ५ मिनेटभित्र सुवालले मुख्यतः एमसीसी नेपालको हीत विपरित रहेको, टेबुल नै गर्न नहुने धारणा राखे । एमसीसी कार्यान्वयनमा जानु भनेको अमेरिकी हस्तक्षेप स्वीकार्नु हुने भन्दै एमसीसीको पक्षमा रहनेहरुलाई देश निकाला गर्ने दिन आउन् चेतावनी दिए ।

‘अमेरिकी स्वतन्त्रतापछि बेलायती सम्राज्यवादका समर्थकलाई देश निकाला गरिएको स्मरण गर्दै उनले चने, ‘नेपालीहरुले पनि अमेरिकाबाट सिक्नेछन् । एमसीसीका पक्षधरहरु खबरदार । समय सकएिपछि सांसद सुवालको माइकमा आवाज काटियो । तर, उनी रोकिएनन् । बरु नारावाजी सुरु गरे, ‘अमेरिकी सम्राज्यवाद मुर्दावाद, भारतीय हस्तक्षेप स्वीकार्दैनौं । एमसीसी खारेज गर् ।’

त्यसपछि जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी दुर्गा पौडेल बोलिन् । उनले एमसीसीको विपक्षमा सारा नेपालीहरु रहेको उल्लेख गर्दै जनभावना विपरित जाने छुट कसैलाई नरहेको बताइन् । उनी बोलिरँदा नयाँ वानेश्वर सडकमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भइरहेकै थियो । संसद भवन बाहिरको दृष्य सभ्झाउँदै उनले एमसीसीलाई कार्यसूचीबाट हटाउन माग गरिन् ।