संसद्‍मा एमसीसी : बानेश्वरमा सुरक्षा व्यवस्था कडा, हजारौँ सुरक्षाकर्मी परिचालन

१२ फागुन, काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसद‍्मा पेस भएपछि बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप बलियो बनाइएको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकको समयमा संसद भवन क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन हुन सक्ने भन्दै प्रहरीले संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार लगाइएको छ ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा एमसीसी परियोजनामाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । सदनमा एमसीसीको बहस सुरु भइरहँदा सडकमा भने त्यसको विरोधमा प्रदर्शनहरू जारी रहेका छन् ।

गत फागुन ८ गते बसेको प्रतिनिधि सभा बैठकका दौरान संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्र रणमैदान नै बनेको थियो । प्रहरीले रबरको गोली नै चलाउन परेको थियो भने दर्जनौँ प्रहरी तथा आन्दोलनकारी घाइते भएका थिए ।

आज पनि सो प्रकृतिको प्रदर्शन र झडप हुने आशंका गरी नयाँ बानेश्वरसहित देशभरि हजारौँ सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठन, राप्रपालगायतका अन्‍य दलहरुले समेत संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध गर्दै आएका छन् ।