आज एमसीसी पारित गर्ने सरकारको तयारी, बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा

१५ फागुन, काठमाडौं । आज पनि विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रर्दशन गर्ने भएपछि सरकारले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि विभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

एमसीसी पास गर्ने तयारीका साथ दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक आज बस्दै छ । शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।

सोही विषयलाई मध्यनजर गर्दै संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानैदेखि यी क्षेत्रहरुमा सुरक्षाकर्मी खटिएका छन् ।

एमसीसीको विषयलाई लिएर यो सडक खण्डमा लगातारजसो आन्दोलन भइरहेको छ । आन्दोलनलाई नियन्त्रणमा लिन काठमाण्डौ उपत्यकाबाहिरबाट समेत सुरक्षाकर्मी झिकाएर खटाइएको छ ।

सशस्त्र प्रहरी बलले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरत प्रहरीलाई काठमाडौंमा झिकाएर खटाएको छ । सरकारले आज एमसीसी संसदबाट पारित गर्ने गृहकार्य थालेको छ ।

एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद रहेको छ । सत्तारुढ दल मध्य नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा रहेको छ । अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी_, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन गरेर अनुमोदन गर्ने पक्षमा रहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।