सुर्खेतकाे वीरेन्द्रनगरमा कर्फ्यू जारी, सुरक्षा व्यवस्था कडा

१७ फागनु, सुर्खेत । कर्णाली प्रदेशकाे राजधानीसमेत रहेकाे सुर्खेतकाे वीरेन्द्रनगरमा साेमबार साँझबाट कर्फ्यू जारी छ । एमसीसी पारितकाे विराेधमा साेमबार आह्वान भएकाे बन्दका क्रममा एमालेकाे पार्टी कार्यालय र प्रहरी बिटमा आगजनी भयाे ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) काे कार्यालयमा तोडफोड भएपछि वीरेन्द्रनगरमा कर्फ्यूकाे स्थिति पैदा भएकाे हाे । प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ ।

एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध जनाउँदै आएका ६ राजनीतिक दल र दुई मोर्चाले सोमबार नेपाल बन्दको आव्हान गरेका थिए । नेपाल बन्दको आयोजना गर्ने विप्लवको (नेपाल कम्युनिष्ट पार्टी), नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी(ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पाार्टीसहितले गरेका थिए ।

कर्णालीमा यी दलको राजनीतिक संगठन त्यति बलियो छैन । सुर्खेतमा झनै कम रहेको छ । सोमबार बिहान यी राजनीतिक दलले निकालेको र्‍यालीमा न्यून सहभागिता थियो । कार्यकर्ता बिहानै ६ बजे नै बजार बन्द गराउँदै हिडेका थिए ।

दिनभर आन्दोलनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झडप भएको थियाे । झडपमा प्रहरीले अश्रुग्याँस प्रहार गर्‍याे । आन्दोलनकारीले ढुंगा प्रहार गर्दा प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।