अफताब आलम प्रकरण : भारतबाट पक्राउ परे इँटाभट्टाका ‘हेडमिस्त्री’

असोज १७, काठमाडौं ।
बम विष्फोटमा घाइते भएका व्यक्तिलाई उपचारको साट्टा जिउँदै भट्टिमा हालेर जलाएको आरोपमा हाल थुनामा रहेका अफताब आलमको मुद्दामा तत्कालीन हेडमिस्त्रीलाई भारतबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका ४ का ५५ वर्षिय बद्री सहनी छन् । उनलाई भारतको मुजफ्फरपुरबाट पक्राउ गरिएको हो । ‘स्पेशल टास्क फोर्स’ ले उनलाई शुक्रबार साँझ नेपाल ल्याएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय बाराको टोलीले उनलाई पक्राउ गरेको हो । कांग्रेसका पूर्व सांसद तथा मन्त्री रहिसकेका आलमले २०६४ चैतमा संविधानसभा निर्वाचन अघि तत्कालीन राजपुर फरहदवा गाविस ५ का शेख इदरिसको घरमा बम बनाउन लगाएका थिए ।

बम विष्फोट हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको र ३÷४ जनाको मृत्यु भएको प्रत्यक्षदर्शी बताउँछन् । बम बनाएको प्रमाण नरहोस् र बाहिर थाहा नहोस् भन्नका लागि घाइतेहरूलाई जिउँदै इँटाभट्टिमा हालिएको थियो ।

घटनामा गत वर्ष पक्राउ परेका आलम हाल पुर्पक्षका लागि जेल चलान भएका छन् । आलम पक्राउ परेको एक वर्षपछि पक्राउ परेका हेडमिस्त्री सहनीले आलमको निर्देशनमा घाइतेलाई भट्टिमा हालेको स्वीकारिसकेको प्रदेश नं. २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।