असोज, १७ काठमाडौं । पाँचथर समाज नेपालले हालै सम्पन्न दोस्रो अधिवेसनबाट नयाँ कार्यसमिति गठन गरेको छ । जिल्ला बाहिर स्थाई तथा अस्थाई रुपमा बसोबास गरिरहेका पाँचथरबासीहरुको उक्त संस्थाले खगेन्द्र जबेगूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हौ ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सुरेन्द्र तिम्सिना र रमेश लिङ्देन चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा कान्ता रिजाल, भिम बहादुर लिम्बू र पदम फेवादेन चयन भएका छन् । त्यस्तै, महासचिवमा लक्ष्मी राज तावालाई चयन गरिएको छ ।
सचिवमा भुमिका लिम्बू नेम्बाङ, कोषध्यक्षमा मचिन्द्र कुगेनम्बा र सह–कोषाध्यक्षमा टेक बहादुर काम्बाङ चयन भएका छन् ।
समितको संरक्षक भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बे रहेका छन् ।
अन्तराष्ट्रिय समन्वय समिति गठन
अधिवेसनबाट ५ सदस्य अन्तराष्ट्रिय समन्वय समिति समेत गठन गरिएको छ । अन्तराष्ट्रिय समन्वय समितिको संयोजकमा यूकेबाट खुसी लिम्बू चयन भएका छन् । सदस्यहरुमा मकाउबाट चन्डी योङ्या, अमेरिकाबाट प्रेम कार्की, यूकेबाट बिमला लिम्बू, हङकङबाट रबीन लिम्बूलाई चयन गरिएको छ ।
२०६९ सालमा गठन भएको उक्त संस्थाले पाँचथर जिल्लाका जिल्लाबासीहरुको आपत्त विपतमा सहयोग गर्ने उदेश्यले गठन भएको महासचिव तावाले बताए ।
नयाँ कार्यसमिति चयन भएपछि समाजको शनिवार बसेको पूर्ण पहिलो बैठकबाट विभिन्न निर्णय गरेको तावाले बताए । बैठकबाट संस्थाको स्थापना कालदेखि संरक्षकमा रहेका पूर्व स्थानीय विकास मन्त्री स्वर्गिय पूर्णकुमार शेर्माको शोक प्रस्ताव पारित गरेको छ । बैठकले पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाँउपालिकामा पहिरोमा परेर पिडित भएकाहरुलाई राहत वितरण गर्ने तयारी गरेको छ ।
त्यस्तै, बैठकबाट आगामि असोज २४ गते शनिवार किरात याक्थुङ चुम्लुङ ललितपुरमा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । त्यस्तै, पाँचथरबाट निर्वाचित भएर सफल मन्त्री समेत भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङलाई अभिनन्दन गर्ने निर्णय गरेको छ ।
बैठकले विशेष गरेर पाँचथरका देशै भरी छरीएर रहेका जिल्लाबासीहरुलाई सहयोग गर्नका लागि एम्बुलेन्स सेवासमेत सञ्चालन गर्ने भएको छ ।
बैठकले पाँचथर समाज नेपालका लागि साझा भवन बनाउनका लागि आर्थिक सहयोग गर्न देश तथा विदेशमा रहेका पाँचथरबासीहरुलाई अपिल गर्ने निर्णय भएको छ । त्यस्तै समाजमा सदस्यता लिनका लागि अपिल समेत गरेको छ ।








