असोज १८, बाँके ।
कञ्चनपुरमा जुम्ल्याहा शिशू जन्माएकी कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ । आइतबार बिहान साढे ४ बजे उनको मृत्यु भएको हो ।
कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उनको मृत्यु भएको हो । उनी २९ वर्षकी थिइन् । कञ्चनपुरको सेती अस्पतालमा उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् ।
उच्च रक्तश्राव भएपछि उनको पाठेघरको शल्यक्रिया गरिएको थियो । रगत चढाइ उपचार गर्ने क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तर उपचारकै क्रममा रहेकी उनको मृत्यु भएको हो । उनलाई असोज १५ मा भर्ना गरिएको थियो । उनी बेहोस रहेकी र भर्ना गर्न ल्याउँदा स्वास्थ्यावस्था जटिल रहेको अस्पतालद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।







