कोरोना संक्रमणले हालसम्म आठ कैदीको मृत्यु

असोज १८, काठमाडौं ।
हालसम्म देशभरका विभिन्न कारागारमा रहेका आठ कैदीबन्दीको कोरोनाका कारण मृत्यु भएको छ । यसैगरी सात सय भन्दा बढी कैदीमा संक्रमण देखिएको छ ।

कारागार विभागका सूचना अधिकारी देवर्षि सापकोटाका अनुसार केन्द्रीय कारागार सुन्धारामा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको छ । त्यहाँका ६ जनाको मृत्यु भइसकेको छ । बाँके र मोरङका १÷१ जना कैदीकोे गरी आठ जनाको ज्यान गएको हो ।

हालसम्म विभिन्न कारागारका एक हजार नौ सय जनामा कोरोना परीक्षण गरिसकिएको छ । जसमध्ये सात सय जनामा कोरोना पुष्टि भइसकेको छ । दुई सय जना उपचारपछि निको भएका छन् ।

कारागार विभागले ज्वारो, खोकी जस्ता लक्षण देखिएका कैदीबन्दीको कोरोना परीक्षण गर्ने गरेको छ । संक्रमण फैलिन नदिन कारागारहरूमा बाहिरबाट आएको मान्छे भेट्न नदिने, खानेकुरा खान नदिने जस्ता उपाय अवलम्बन गरिएको छ ।

कारागार विभागका अनुसार शंकास्पद र सम्भावित जोखिमयुक्त कैदीबन्दीलाई कारागारभित्रै क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गरिएको छ । विभागका अनुसार, सिरहा, पर्सा, जुम्ला, सिन्धुपाल्चोक, काठमाडौं जस्ता स्थानका कारागारमा संक्रमित कैदीको संख्या बढी छ ।