समाचारको प्रभाव : कृषि मन्त्रालयको वेबसाइट अद्यावधिक

काठमाडौं । सहसचिव जानुका पण्डितको सरुवा भएको करिब एक महिना बितिसक्दा पनि साबिकको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वेबसाइट अद्यावधिक नभएको विषयमा हाम्रो पत्रिका अनलाइनमा समाचार प्रकाशित भएपछि मन्त्रालयले वेबसाइट अद्यावधिक गरेको पाइएको छ।

वैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले जानुका पण्डितलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशमा सरुवा गरेको थियो। त्यसपछि वैशाख २४ गतेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले उनलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशको सचिवको जिम्मेवारी दिएको थियो।

तर, यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वेबसाइटमा उनको तस्बिर र पुरानै जिम्मेवारी कायम रहेको देखिएको थियो। मन्त्रालयको नाम परिवर्तन गरी वेबसाइटमा ‘कृषि, वन तथा पर्यावरण मन्त्रालय’ राखिए पनि प्रवक्तासम्बन्धी विवरण अद्यावधिक गरिएको थिएन।

यता, लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको वेबसाइटमा भने सचिवका रूपमा जानुका पण्डितको नाम यसअघि नै राखिएको थियो।