काठमाडौं जिल्ला अदालतमा लेखापढी व्यवसायीका लागि नयाँ पोशाक अनिवार्य

काठमाडौं – काठमाडौं जिल्ला अदालतले लेखापढी व्यवसायीहरूको पहिचान र मर्यादा कायम राख्ने उद्देश्यले तोकिएको पोशाक अनिवार्य रूपमा लगाउन निर्देशन दिएको छ।

अदालतका अनुसार नेपाल कानून व्यवसायी परिषद्बाट मिति २०८३ वैशाख ९ गते लेखापढी व्यवसायी सम्बन्धी नियमावली, २०५१ मा गरिएको संशोधनअनुसार पुरुष लेखापढी व्यवसायीले बैजनी रंगको कोट वा स्टकोट, पाइन्ट तथा निलो–बैजनी रंगको सर्ट लगाउनुपर्नेछ। त्यस्तै महिला लेखापढी व्यवसायीले बैजनी रंगको कोट–पाइन्ट र निलो–बैजनी रंगको सर्ट वा सोही रंगको कुर्ता–सुरुवाल अथवा सारी–ब्लाउज लगाउनुपर्ने व्यवस्था गरिएको छ।

अदालतले उक्त पोशाक आगामी २०८३ जेठ १८ गतेदेखि अदालत प्रवेश गर्दा अनिवार्य रूपमा लगाउनुपर्ने जनाएको छ। तोकिएको पोशाक नलगाएको अवस्थामा अदालत प्रवेशमा रोक लगाइने चेतावनी समेत दिइएको छ।

यसैगरी अदालतले मुद्दासम्बन्धी निवेदनहरू पनि तोकिएको ढाँचामा पेश गर्न अनुरोध गरेको छ। किटानीपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र लगायत अदालतमा पेश हुने निवेदनहरू मुलुकी देवानी कार्यविधि नियमावली, २०७५ को नियम ६ तथा मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ४२ बमोजिम कम्प्युटर प्रिन्ट गरिएको ढाँचामा पेश गर्नुपर्ने अदालतले जनाएको छ।

अदालतले सम्बन्धित सम्पूर्ण लेखापढी व्यवसायीलाई नयाँ व्यवस्था पालना गर्न आग्रह गरेको छ।