विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु , ११ घाइते

काठमाडौं।देशभर पछिल्लो २४ घण्टामा भएका २५ वटा विपद्का घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जेठ २० गते बिहान १० बजेदेखि जेठ २१ गते बिहान १० बजेसम्म आगलागी, सर्पदंश, बाढी, पहिरो तथा हावाहुरीका घटनाले जनधनमा क्षति पुर्‍याएको हो।

प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिन अनुसार सर्पको टोकाइबाट रौतहट, बारा र कपिलवस्तुमा गरी तीन जनाको मृत्यु भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–६ की ७३ वर्षीया महिलाको सर्पदंशबाट मृत्यु भएको छ भने बाराको पचरौता नगरपालिका–४ मकैबारीमा खेलिरहेका १९ महिनाका एक बालकलाई सर्पले टोकेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै कपिलवस्तु नगरपालिका–१ की १६ वर्षीया किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गोमन सर्पले टोकेपछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

उता रोल्पाको गङ्गादेव गाउँपालिका–६ रातमाटामा विद्यालयबाट घर फर्किने क्रममा खहरे खोलाको भेलमा बगेर ६ र ७ वर्षका दुई बालकको मृत्यु भएको प्राधिकरणले जनाएको छ । उक्त अवधिमा करिब ६३ लाख ९० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

सर्पदंशबाट घाइते भएका मोरङ, सिरहा, कपिलवस्तु, दाङ, पाल्पा र कञ्चनपुरका आठ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्राधिकरणले वर्षायाम सुरु भएसँगै बाढी, पहिरो, चट्याङ र सर्पदंशका जोखिम बढेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।