काठमाडौं — बैंक तथा वित्तीय संस्थाहरूबाट कृषि क्षेत्रमा प्रवाहित कर्जा चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म ३ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार कृषि क्षेत्रमा गएको कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४९ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष यही अवधिमा कृषि कर्जा ३.३४ प्रतिशतले बढेको थियो।
कर्जा वितरणको विवरणअनुसार कृषि क्षेत्रभित्र सबैभन्दा बढी लगानी पशुपालन क्षेत्रमा भएको छ। पुस मसान्तसम्म पशुपालनमा ६६ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। विपरीत रूपमा, सबैभन्दा कम कर्जा सुर्ती खेतीमा १६ करोड ८९ लाख रुपैयाँ मात्र रहेको छ।
राष्ट्र बैंकका अनुसार अन्नबाली उत्पादनमा ४२ अर्ब ९० करोड रुपैयाँ, तरकारी खेतीमा १९ अर्ब ५६ करोड रुपैयाँ, चिया तथा कफी खेतीमा ३ अर्ब ४६ करोड रुपैयाँ, सनपाटमा २ अर्ब २४ करोड रुपैयाँ, अन्य नगदे बालीमा ८ अर्ब ५५ करोड रुपैयाँ तथा फलफूल र पुष्पखेतीमा ५ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी भएको छ।
त्यसैगरी, शीत भण्डारणमा ६ अर्ब ५९ करोड रुपैयाँ, कृषि सामग्री भण्डारणमा १५ अर्ब ६८ करोड रुपैयाँ, मलखाद तथा किटनाशक व्यवसायमा ३१ अर्ब ३४ करोड रुपैयाँ, पंक्षीपालनमा १६ अर्ब ५८ करोड रुपैयाँ, माहुरीपालनमा ३९ अर्ब ८ करोड रुपैयाँ तथा अन्य कृषि तथा कृषिजन्य सेवामा ४८ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।
सिँचाइ क्षेत्रमा १ अर्ब ६५ करोड रुपैयाँ, वन क्षेत्रमा ४ अर्ब ७८ करोड रुपैयाँ, बीउ उत्पादन तथा वितरणमा ३ अर्ब ३ करोड रुपैयाँ र माछापालनमा १६ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकले जनाएको छ।
प्रदेशगत रूपमा कृषि कर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.८८ प्रतिशत रहेको छ। त्यसपछि मधेश प्रदेशको १८.३० प्रतिशत, कोशी प्रदेशको १६.५६ प्रतिशत, लुम्बिनी प्रदेशको १५.१४ प्रतिशत, गण्डकी प्रदेशको ६.९५ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ४.७० प्रतिशत तथा कर्णाली प्रदेशको १.४७ प्रतिशत हिस्सा रहेको छ।







