बर्डफ्लु : १० जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

काठमाडौँ – पशुसेवा विभागले काठमाडौँ उपत्यकालगायत बर्डफ्लु पुष्टि भएका १० जिल्लामा करिब सात लाख पन्छी नष्ट गरेको जनाएको छ । प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पन्छीसहित करिब तीन लाख किलो दाना नष्ट गरिएको हो ।

काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको विभागका महानिर्देशक डा उमेश दाहालले जानकारी दिए ।

बर्डफ्लुको खोप विकास नभएकाले सङ्क्रमण देखिनासाथ पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गरिएको हो । करिब ११ लाख अण्डा नष्ट गरिएको छ । सम्बन्धित किसानलाई नष्ट गरिएका पन्छीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने उनले बताए ।

प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरी विवरण तयार गरी विभागमा विवरण पठाइने छ । त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ ।