काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्ने अवधि पुनः तीन दिन थप गरिएको छ।
विशेष अदालत, काठमाडौँका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। यससँगै पौडेलको हिरासत अवधि पाँचौँ पटक विस्तार भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। अनुसन्धान अझै पूरा नभएकाले विभागले थप समय हिरासतमा राख्न अदालतसँग अनुमति मागेको थियो, जसलाई अदालतले स्वीकृति दिएको हो।
यसअघि असार २४ गते अदालतले पौडेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। उनलाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।







