जनकपुरधाम ।मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन्।
पछिल्ला पाँच वर्षमा ९९ वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादवले जानकारी दिए। उनले ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीको घटना बढेको बताए।
महोत्तरीबाट ३५, बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा नौ-नौ वटा, सप्तरीमा तीन वटा तथा पर्सामा दुई वटा ट्रान्सफर्मर चोरी भएका हुन्। चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभिएका देखि २०० केभिएका छन्। ट्रान्सफर्मर चोरीले किसानलाई प्रत्यक्ष प्रभाव परेको छ।
भनेको बेलामा सिँचाइ गर्न नपाएकाले उनीहरु प्रभावित भएका हुन् । कृषकले दोषीलाई शीघ्र पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले चोरी भएका ट्रान्सर्फमरको खोजी कार्य भइरहेको बताउनुभयो ।







