शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दैछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, पूर्वाधार विकास समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा समितिका आन्तरिक गतिविधिको समीक्षा, राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिको प्रतिवेदनलगायत विषयमा छलफल गरिनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको बैठक सञ्चालन कार्यविधिका विषयमा छलफल हुने जनाइएको छ ।

यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय सदाचार नीति–२०८३’ को कार्यान्वयन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।