काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनअन्तर्गत आयोजना हुने ‘उच्चस्तरीय सप्ताह’ मा नेपालको सहभागिताबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएको छ ।
एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको टोली २२ सेप्टेम्बरमा न्यूयोर्क प्रस्थान गर्ने जानकारी दिएको हो ।
शाहले २४ सेप्टेम्बरमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको छ । न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग औपचारिक भेटवार्ता गर्नेछन् ।
यसैगरी, महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रमहरूमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल भने प्रधानमन्त्रीभन्दा दुई दिनअघि अर्थात् २० सेप्टेम्बरमै न्यूयोर्क प्रस्थान गर्नेछन् ।
उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालका अतिरिक्त प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहने विज्ञप्तिमा जनाइएको छ ।
शाह २६ सेप्टेम्बर २०२६ मा स्वदेश फर्कने तालिका छ ।






