काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ३६ दशमलव २५ अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक घटेर दुई हजार ६१८ दशमलव ०३ विन्दुमा कायम भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ विन्दुमा झरेको छ ।
त्यसैगरी, फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८० दशमलव ३९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव १९ अङ्कले घटेर १५७ दशमलव ८० विन्दुमा कायम भएको छ ।
आज विभिन्न कम्पनीका दुई करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर छ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबार भएका १३ वटै उपसमूहको सूचक घटेको छ ।
आज २३ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको मूल्य घटेको छ भने दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त संस्था र निफ्रा ग्रीन डिबेञ्चरलगायतका धितोपत्रमा लगानी गर्ने लगानीकर्ताले कमाएका छन् । त्यस्तै, फष्ट माइक्रो फाइनान्स लघुवित्त, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र कालिका लघुवित्त वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन् ।






