पाल्पा, ११ असोज: पाल्पामा अविरल वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। पहिरोमा पुरिएर सम्पर्कविहीन भएका माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टाका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्तीको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार उनीहरूको शव सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासमा पहिरोबाट निकालिएको हो।
यसअघि आज बिहान पहिरोमा परी माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको थियो। पहिरोमा परी घाइते भएका चिदीलाई उद्धार गरी जिल्ला अस्पताल पाल्पा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। सारुको शव भने पहिरोमा पुरिएको अवस्थामा उद्धार गरिएको थियो।
निरन्तरको वर्षापछि आज बिहान आएको पहिरोले लिलबहादुर घर्तीमगरको घर पूर्णरूपमा पुरेको थियो। घरभित्र सुतिरहेका उनीहरू पहिरोमा परेपछि सम्पर्कविहीन भएका थिए।
प्रहरीका अनुसार पहिरोमा परी मृत्यु भएका पाँचै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ।






