मनाङ– मनाङको चामेमा पहिरो खसेपछि मर्स्याङ्दी नदीको बहाव प्रभावित भएको छ । पहिरोका कारण नदीको बहाव कम हुँदै गएपछि तटीय क्षेत्रमा जोखिम बढेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
प्रशासनका अनुसार आइतबार साँझ करिब ७ बजे चामेस्थित मर्स्याङ्दी नदीमा पहिरो खसेको हो । पहिरो खस्ने क्रम अझै नरोकिएको र साँझ पौने ८ बजेसम्म नदी आसपासमा पहिरो खसिरहेको सूचना प्राप्त भएको प्रशासनले जनाएको छ ।
पहिरोका कारण नदीको बहाव थप प्रभावित भई नदी थुनिन सक्ने सम्भावना रहेकाले मर्स्याङ्दी नदीको तटीय तथा करिडोर आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
नदीको बहावमा जुनसुकै बेला परिवर्तन आउन सक्ने भएकाले नदी आसपास अनावश्यक रूपमा नजान तथा सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले अनुरोध गरेको छ ।






