मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा। केही दिनदेखि लगातार परेको वर्षापछि मौसममा सुधार आएसँगै बाजुराको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । आइतबारदेखि मौसममा सुधार देखिन थालेकोमा सोमबार आकाश खुल्दै घाम लागेपछि बजार, विद्यालय, सरकारी कार्यालय तथा यातायात सेवा नियमित हुन थालेका छन् ।

लगातारको वर्षाका कारण प्रभावित बनेका जिल्लाका लामो तथा छोटो दूरीका सवारीसाधन पुनः सञ्चालनमा आएका छन् । वर्षाका कारण बन्द भएका शैक्षिक संस्थासमेत सोमबारदेखि सञ्चालनमा आएका छन् । ग्रामीण क्षेत्रमा अवरुद्ध केही सडकमा पनि यातायात सेवा सुचारु हुन थालेको छ ।

वर्षाका कारण अवरुद्ध साँफे–मार्तडी सडकखण्डमा आइतबार पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मौसममा सुधार भएसँगै अन्य ग्रामीण सडकमा समेत सवारीसाधन सञ्चालनको प्रयास भइरहेको जनाइएको छ ।

मौसम खुलेपछि किसानहरू पनि खेतबारीको काममा फर्किएका छन् । लगातारको वर्षाका कारण रोकिएको धान काट्ने लगायतका कृषि कार्य पुनः सुरु भएको स्थानीय वीरबहादुर बुढाले बताए ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले मौसममा सुधार आउन थालेसँगै जिल्लाको जनजीवन पनि क्रमशः सामान्य बन्दै गएको बताए । उहाँका अनुसार बाजुराबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायात सेवा आइतबारदेखि नै पुनः सञ्चालनमा आएका छन् ।