काठमाडौँ । नेपाल बार एसोसिएसनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा चुनौती देखाउँदै असोज १० गते मध्यरातमा नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएको छ ।
नेपाल बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्याप्त आधार र कारणबिना कुनै पनि नागरिकलाई नियन्त्रणमा लिनु संविधान, कानुनी शासन तथा लोकतान्त्रिक शासन प्रणालीको मर्मविपरीत हुने उल्लेख गरिएको छ ।
बारले जबरालाई नियन्त्रणमा लिइएको घटनालाई ‘रहस्यमय र सन्देहात्मक’ भएको जनाएको छ । साथै, राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिलाई समेत जबरासँग भेटघाट गर्न नदिइएको विषयले घटनालाई थप गम्भीर बनाएको बारको भनाइ छ ।
विज्ञप्तिमा नेपाल बारले सरकार स्वेच्छाचारी तथा अनुदारवादतर्फ उन्मुख भएको आरोप लगाउँदै विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारका हस्तक्षेपको विरोध गरेको छ । आधार, कारण र प्रमाणबिना नागरिकलाई पक्राउ वा नियन्त्रणमा लिने कार्य नगर्न सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराइएको छ ।
नेपाल बारले न्यायपालिकामा हुने विकृति, विसङ्गति र भ्रष्टाचारविरुद्ध न्यायिक सुशासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएको जनाएको छ । न्यायपालिका स्वच्छ र भ्रष्टाचारमुक्त हुनुपर्नेमा जोड दिँदै सरकार, राजनीतिक नेता वा न्यायपालिकाका पूर्वपदाधिकारीबाट न्यायपालिकाको स्वच्छता र स्वतन्त्रतामाथि हुने हस्तक्षेपको प्रतिवाद गर्ने प्रतिबद्धता जनाएको छ ।
त्यस्तै, विचाराधीन मुद्दामामिलामा सेवानिवृत्त प्रधानन्यायाधीश, न्यायाधीश वा अन्य कुनै व्यक्तिले हस्तक्षेप, चासो, सरोकार वा छलफल नगर्न कानुनी तथा आचारसंहिताका व्यवस्था पालना गर्न बारले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
नेपाल बारले संवैधानिक इजलास वरिष्ठताको आधारमा वा गोलाप्रथाबाट गठन गर्ने व्यवस्था अविलम्ब लागू गर्न प्रधानन्यायाधीशसमक्ष पुनः आग्रह गरेको छ । न्यायपालिकाको स्वच्छता र शुद्धताका लागि चालिने हरेक कदममा आफ्नो साथ र सहयोग रहने पनि बारले स्पष्ट पारेको छ ।






