काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरिएको छ। केन्द्रीय निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामा केन्द्रदेखि वडा तहसम्मका विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षीका लागि शुल्क तोकिएको हो।
निर्देशिकाअनुसार केन्द्रीय कार्यसमितिको सभापति पदका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ। त्यस्तै सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ।
केन्द्रीय कार्यसमिति चयनका लागि मतदाता हुने केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि २ हजार ५ सय रुपैयाँ तथा महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित हुने महासमिति सदस्य पदका लागि ३ हजार रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ।
यसैगरी प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि ५ सय र प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ।
प्रदेश अधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति सभापतिका लागि १० हजार रुपैयाँ, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६–६ हजार रुपैयाँ तथा सदस्य पदका लागि ३ हजार रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ।
जिल्ला कार्यसमितितर्फ सभापतिका लागि ५ हजार रुपैयाँ, उपसभापति र सचिवका लागि ३ हजार ५ सय, सहसचिवका लागि ३ हजार तथा सदस्य पदका लागि १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ।
गाउँ–नगर वडा सभापतिका लागि २ सय ५० रुपैयाँ, गाउँपालिका सभापतिका लागि १ हजार, नगरपालिका सभापतिका लागि २ हजार तथा उपमहानगरपालिका र महानगरपालिका सभापतिका लागि २ हजार ५ सय रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ।
त्यस्तै प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि २ हजार ५ सय र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको निर्देशिकामा उल्लेख छ।
यसैबीच, विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले अघि बढाइरहेको महाधिवेशनका लागि भने केन्द्रीय सभापति पदमा ४० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीमा ३० हजार, सहमहामन्त्रीमा २० हजार र केन्द्रीय सदस्यमा ११ हजार रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको छ।
संस्थापन पक्षीय केन्द्रीय निर्वाचन समितिले तयार पारेको निर्देशिकामा वडा सभापतिका लागि १ हजार, गाउँपालिका तथा नगरपालिका सभापतिका लागि ५ हजार र उपमहानगरपालिका तथा महानगरपालिका कार्यसमिति सभापतिका लागि ७ हजार रुपैयाँ मनोनयन शुल्क लिइने उल्लेख छ।






