काठमाडौं – बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित निकालेको छ।
मंगलबार अल अमेरातस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो।
ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ओमानले १२औँ ओभरमा ४१ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो। त्यसपछि शुक्ला र जय ओडेराले सातौँ विकेटका लागि ८३ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरेका थिए। ओडेरा २५ रन बनाएर आउट भए।
नेपालका लागि नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान तीन विकेट लिए। यादवले ६ ओभरमा १२ रन खर्चिए भने सन्दीपले नौ ओभरमा २८ रन दिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रनको योगदान दिए। ६७ बल सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे। अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पाण्डेले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए।
अन्त्यतिर करण केसीले आक्रामक ब्याटिङ गर्दै नेपालको स्कोर उकासे। उनले १६ बलमा ४० रन बनाए। करणले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरेका थिए भने अन्तिम ओभरमा शाह फैसलको बलमा पनि छक्का हिर्काए।
ओमानका लागि शाह फैसल, शकील अहमद र करण सोनाभालेले समान दुई विकेट लिए। हस्नेन शाहले एक विकेट हात पारे।
यस जितसँगै लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक पुगेको छ। ओमान भने ३० खेलबाट ३३ अंक जोड्दै चौथो स्थानमा छ।
नेपालले शृङ्खलाको आफ्नो अर्को खेल आगामी शनिबार क्यानडासँग खेल्नेछ।






