काठमाडौँ । सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विभिन्न माग सम्बोधनका लागि आन्दोलनरत पक्षसँग विगतमा भएका सहमतिको समीक्षा गरी तिनको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई सम्बन्धित पक्षसँग समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, शिक्षा तथा खेलकुद मन्त्री र प्रधानमन्त्री बालेन साहका स्वास्थ्य सल्लाहकारसहित सहभागी बैठकमा यसअघि भएका सहमतिमध्ये कार्यान्वयनमा आएका विषयको समीक्षा पनि गरिएको थियो ।
वर्तमान सरकारले विगतमा विभिन्न पक्षसँग भएका सहमतिको नियमित समीक्षा गर्ने योजना अघि बढाएको छ । सोही योजनाअनुसार बैठक आयोजना गरिएको जनाइएको छ ।






