स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन्।

बीबीसीका अनुसार बुधबार बिहान म्याड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल लिकमा रोकिएको अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो। ठक्करपछि रेलका कैयौँ डिब्बा लिकबाट बाहिरिएर छेउको ढिस्कोबाट तल खसेका थिए।

दुर्घटना बुधबार बिहान ९ बजेपछि म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा रहेको मोरा र ओर्गाज नगरपालिकाबीच भएको बताइएको छ।

स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको कारण हुन सक्ने प्रारम्भिक विवरण छ। बीबीसीले यस दुर्घटनालाई युरोपको आधुनिक इतिहासकै गम्भीर रेल दुर्घटनामध्ये एक तथा पछिल्लो १३ वर्षयताकै स्पेनको सबैभन्दा ठूलो रेल दुर्घटनाका रूपमा उल्लेख गरेको छ।

मन्त्री पुएन्तेका अनुसार निजी रेल सञ्चालक कम्पनी इरियोको स्वामित्वमा रहेको रेलमा १४७ जना यात्रु सवार थिए। कम्प्युटर प्रणालीमा समस्या आएपछि उक्त रेल लिकमै रोकिएको थियो।

इरियो कम्पनीले भने आफ्नो रेललाई स्पेनको सरकारी रेल कम्पनी रेनफेद्वारा सञ्चालित अर्को रेलले पछाडिबाट ठक्कर दिएको जनाएको छ। रेनफेको रेलमा ३९७ जना यात्रु सवार रहेको बताइएको छ।

दुर्घटनाबाट उद्धार गरिएका यात्रुहरूले घटनाको भयावह अवस्थाबारे बताएका छन्। उनीहरूका अनुसार ठक्करका कारण यात्रुहरू हावामा उछिट्टिएका थिए भने कतिपय भग्नावशेषमा फसेका थिए। रेलबाट बाहिर निस्कन केही यात्रुले झ्यालका सिसासमेत फुटाउनुपरेको थियो।