बाँके– भारतीय फूलको आयातमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। नेपालगञ्ज, कोहलपुर, खजुरा र जानकी गाउँपालिकाका किसानले यस वर्ष व्यावसायिक रूपमा फूलखेती गरेका छन्।
फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरका अनुसार जिल्लामा पछिल्लो समय फूलखेतीप्रति किसानको आकर्षण बढेको हो।
नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी चर्तीमगरले करिब एक दशकदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएकी छन्। उनका अनुसार अन्य समयको तुलनामा तिहारमा फूलको माग अत्यधिक हुने गरेको छ। विवाह, सभा–समारोह, गोष्ठी तथा उपहारका रूपमा फूलको प्रयोग बढ्दै जाँदा बजारमा यसको माग पनि विस्तार हुँदै गएको छ।
‘सानैदेखि फूलसँग खेल्ने रहर थियो। जिल्लामा फूलको माग पनि राम्रो भएकाले यस व्यवसायप्रति आकर्षित भएँ,’ उनले भनिन्, ‘सुरुमा थोरै लगानीबाटै व्यवसाय गर्न सकिने र बजारसमेत राम्रो भएकाले फूलखेती सुरु गरेकी हुँ। आम्दानी पनि सन्तोषजनक छ।’
उनले सुरुमा १० कट्ठा क्षेत्रफलमा गरेको फूलखेती विस्तार गर्दै अहिले दुई बिघामा पुर्याएकी छन्। उनले सयपत्रीअन्तर्गत टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका फूल उत्पादन गर्दै आएकी छन्। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आयात हुने प्लास्टिकका फूल तथा मालामा प्रतिबन्ध लगाउनुपर्ने उनको सुझाव छ।
यसैबीच, नेपालगञ्जका तीन युवा सुभाषजङ्ग शाह, कीर्तीराज दीक्षित र सुशीलकुमार मौर्यले पनि यस वर्षदेखि बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा दुई बिघा क्षेत्रफलमा व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन्।
फरक–फरक पेसा तथा व्यवसायमा आबद्ध उनीहरूले सामूहिक रूपमा सुरु गरेको फूलखेतीमा अहिले सयपत्री ढकमक्क फुलेको छ। तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूलको बिक्रीसमेत सुरु भइसकेको शाहले बताए।
‘नेपालगञ्जमा फूलको मागलाई ध्यानमा राखेर खेती सुरु गरेका हौँ। चाँडै सहरका मुख्य चोकमा स्टल राखेर फूल तथा माला बिक्री गर्ने तयारीमा छौँ,’ उनले भने, ‘फूल बिक्रीका लागि तयार भइसकेको छ। ग्राहकको सहजताका लागि होम डेलिभरी सेवा पनि उपलब्ध गराइरहेका छौँ।’
स्थानीयस्तरमै फूल उत्पादन गरी बजारमा बिक्री गर्न थालिएपछि तिहारमा बाहिरबाट आयात हुने फूलको विकल्प तयार हुँदै गएको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले बताइन्।
उनका अनुसार विगतमा घरायसी प्रयोजनका लागि मात्र फूलखेती गर्ने किसान पछिल्ला केही वर्षयता व्यावसायिक उत्पादनतर्फ आकर्षित हुन थालेका छन्। जिल्लामा फूलको बजार विस्तार हुँदै जाँदा व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या पनि वर्षेनि बढिरहेको छ।






