आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– अर्नब चक्रवातको अवशेषका रूपमा विकसित न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपालनजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ। मधेस प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ।

मौसम प्रणालीको प्रभावले अपराह्नसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले केही समयअघि विशेष मौसम बुलेटिन जारी गर्दै उक्त जानकारी दिएको हो। अपराह्नपछि भने वर्षा र हिमपातको क्रम क्रमशः घट्दै मौसममा सुधार हुँदै जाने महाशाखाको पूर्वानुमान छ।