काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारले लोकतान्त्रिक प्रणाली, संविधानप्रदत्त मौलिक अधिकार र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। लोकतान्त्रिक व्यवस्थाअन्तर्गत निर्वाचित सरकारबाटै निरंकुश व्यवहार देखिनु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।
श्रेष्ठले लामो बलिदानीपूर्ण संघर्षबाट निरंकुशतन्त्र अन्त्य गरी नेपाली मौलिकतासहितको लोकतान्त्रिक व्यवस्था स्थापना गरिएको भए पनि अहिले निर्वाचित सरकारबाटै निरंकुश शैली अपनाइएको बताएका छन्।
पत्रकार पक्राउ गर्ने, सञ्चारगृहका कार्यालयमा प्रहरी परिचालन गरी घेराबन्दी गर्ने तथा घटनाबारे सरकारी निकायबाटै परस्पर विरोधी धारणा सार्वजनिक हुने गतिविधिप्रति उनले आपत्ति जनाएका छन्।
उनका अनुसार प्रहरीले प्रधानमन्त्रीको सचिवालयको चासोका कारण पत्रकार पक्राउ गर्नुपरेको आधिकारिक जानकारी दिएको थियो। तर प्रधानमन्त्रीको प्रेस सचिवालयले भने प्रधानमन्त्री र सचिवालयको उक्त घटनामा कुनै संलग्नता वा जानकारी नरहेको स्पष्ट पारेको थियो।
त्यसपछि पत्रकारलाई रिहा गरिए पनि पक्राउ नै नगरिएको भन्ने अभिव्यक्ति आउनु गैरजिम्मेवारपूर्ण भएको श्रेष्ठको भनाइ छ।
उनले यस्तो घटनाक्रमले सरकारको न्यूनतम लोकतान्त्रिक आचरण र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेका छन्।
श्रेष्ठले भनेका छन्, ‘सुशासन, समृद्धि र सामाजिक न्यायको नारा दिएर सरकारमा पुगेको यो सरकारको यस्तो कार्य जनताको भावना र लोकतन्त्रमाथि गरिएको गैरजिम्मेवार खेलबाड हो।’
उनले सरकारका अलोकतान्त्रिक गतिविधिको घोर भर्त्सना गर्दै संविधानप्रदत्त मौलिक अधिकार र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल अन्त्य गर्न माग गरेका छन्।
साथै उनले लोकतन्त्रका आधारभूत मूल्य, प्रेस स्वतन्त्रता र नागरिकका संवैधानिक अधिकारको सम्मान गर्दै लोकतान्त्रिक आचरण प्रदर्शन गर्न सरकारलाई आग्रह गरेका छन्।






