हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

कास्की । छोटो समयमै हिमालको नजिक पुगेर प्राकृतिक सौन्दर्यको आनन्द लिन सकिने भएपछि कास्कीको मर्दी हिमाल पदमार्ग आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । हिमाल, हरियाली वन, ग्रामीण बस्ती, बादलको लुकामारी र शान्त वातावरणले मर्दी पदमार्गमा पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ ।

जापानबाट यस वर्ष दसैँ–तिहार मनाउन जन्मथलो फर्किनुभएकी काभ्रेकी ज्योति खड्काले चाडपर्वपछि चार दिन मर्दी हिमाल पदमार्गमा बिताउनुभयो । हिमाल, हरियाली र बादलसँग रमाउँदै बिताएका ती दिन उहाँका लागि अविस्मरणीय बने ।

“मर्दी हिमालको प्राकृतिक सुन्दरता निकै आकर्षक, मनमोहक र शान्त लाग्यो,” उहाँले भन्नुभयो, “पदयात्राका क्रममा देखिने हिमाल र वरपरको वातावरणले थकान बिर्साएर मनमा नयाँ उमङ्ग पैदा गरिदियो ।”

दसैँ–तिहारको बिदामा कलेजका साथीहरूसँग मर्दी पुगेकी म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँकी सुशिप्ता जिसी पनि यहाँको प्राकृतिक सौन्दर्यबाट प्रभावित हुनुभयो । बिहानको सूर्योदय, हिमाल र पहाडका फेदीमा देखिने बादलको मनोरम दृश्यले यात्रालाई विशेष बनाएको उहाँको अनुभव छ ।

धादिङका नारायण कँडेल छोटो समयमै हिमालको सामीप्यमा पुग्न सक्नु मर्दी पदयात्राको प्रमुख विशेषता मान्नुहुन्छ । इटालीबाट आउनुभएका पर्यटक इन्ट्राले पनि यहाँको प्राकृतिक वातावरण, हिमाली दृश्य र शान्त परिवेशले आफूलाई विशेष अनुभव दिएको बताउनुभयो ।

मर्दी हिमाल पदमार्गमा एउटै क्षेत्रबाट मर्दी, माछापुच्छ्रे, अन्नपूर्ण दक्षिण, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण र गन्धर्वचुलीलगायत १३ वटा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । काठमाडौँकी निकिता कार्कीका अनुसार हिउँले ढाकिएका हिमाल, डाँडाकाँडा र स्वच्छ वातावरणले पदयात्रालाई थप रोमाञ्चक बनाउँछ ।

बादलको लुकामारी र हिमालको मनमोहक दृश्य

मर्दी हिमाल पदमार्गको प्रमुख आकर्षण यहाँको बदलिरहने मौसम र बादलको लुकामारी हो । केही क्षणअघि बादलले छोपिएका हिमाल एकाएक खुल्दा देखिने दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ । सूर्योदय र सूर्यास्तका बेला हिमालमा देखिने सुनौलो रङले यहाँको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाउँछ ।

बादलडाँडादेखि भ्यु पोइन्टसम्म डाँडैडाँडा यात्रा गर्दा पोखरा उपत्यका, अन्नपूर्ण आधार शिविर र आसपासका हिमाली क्षेत्रको दृश्य देख्न सकिन्छ । बाटोमा भेटिने भेडाबाख्रा, चौँरी र भैँसीका घुम्ती गोठले परम्परागत ग्रामीण जीवनशैलीको झल्को दिन्छन् ।

वसन्त ऋतुमा पाखाभरि फुल्ने लालीगुराँस, हरियाली वन र चराचुरुङ्गीको चिरबिर आवाजले यस क्षेत्रको आकर्षण अझ बढाउँछ । हिमाली दृश्यसँगै वनस्पति, वन्यजन्तु र चराचुरुङ्गीको अवलोकन गर्न चाहनेका लागि पनि मर्दी उपयुक्त गन्तव्य हो ।

मर्दी हिमाल पदमार्गका संस्थापक सचिव शिवकुमार भण्डारीका अनुसार सन् २०२१ मा गरिएको अध्ययनले यस क्षेत्रमा ११२ प्रजातिका चराको बासस्थान रहेको देखाएको थियो । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनमा सेतो गिद्ध, हिमाली गिद्ध, काँडे भ्याकुर र नदीचरीजस्ता महत्वपूर्ण प्रजाति पाइने पुष्टि भएको उहाँले बताउनुभयो ।

“यो पदमार्ग हिमाल, बादल र प्राकृतिक दृश्यावलोकनका लागि मात्र नभई चराचुरुङ्गी तथा जैविक विविधताको दृष्टिले पनि महत्वपूर्ण छ,” भण्डारीले भन्नुभयो, “यस क्षेत्रलाई हिमाली पर्यटनसँगै चराअवलोकन र प्रकृतिमा आधारित पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको छ ।”

कात्तिकमा दैनिक सात सयसम्म पर्यटक

तीनदेखि चार दिनमै पदयात्रा पूरा गर्न सकिने र अन्य कतिपय पदमार्गको तुलनामा सहज मानिने भएकाले मर्दीमा पर्यटकको आकर्षण बढ्दै गएको छ ।

पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङका अनुसार अनुकूल मौसम तथा दसैँ, तिहार र छठको बिदाका कारण कात्तिक महिनामा दैनिक ६०० देखि ७०० जनासम्म पर्यटक आउने गरेका छन् । तीमध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक रहेको उहाँले जानकारी दिनुभयो ।

पर्यटकको आगमन बढ्नु सकारात्मक भए पनि सीमित क्षमताका होटलमा चाप बढ्दा आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको उहाँको भनाइ छ ।

पर्यटकको सङ्ख्या होटलको क्षमताभन्दा बढी हुँदा कतिपयलाई टेन्ट तथा होटलका भोजनकक्षमा समेत राख्नुपर्ने अवस्था आउने गरेको तामाङले बताउनुभयो । पदमार्गको हाइक्याम्पसम्म मात्रै होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । भ्यु पोइन्ट र आधार शिविर क्षेत्रमा भने होटल तथा रेस्टुरेन्ट छैनन् ।

हाइक्याम्पमा रहेका १४ वटा होटलमा २५ भन्दा बढी शय्या राख्न नपाइने व्यवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले होटल तथा कोठाको सङ्ख्या निश्चित गरेकाले मुख्य पर्यटकीय याममा पर्यटकको चापअनुसार आवास व्यवस्थापन गर्न कठिन हुने गरेको व्यवसायी कविता अर्याल गौतम बताउनुहुन्छ ।

“अघिल्लो वर्षभन्दा यसपटक मर्दीमा पर्यटकको सङ्ख्या धेरै बढेको छ । फरेस्ट क्याम्पमाथिका सबै होटल भरिभराउ हुँदा थप पाहुना राख्न सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “पर्यटकले असुविधा भोग्नुपर्दा मर्दीका बारेमा नकारात्मक सन्देश जाने हो कि भन्ने चिन्ता छ ।”

कसरी पुग्ने मर्दी हिमाल ?

पोखराबाट सवारीसाधनमा कालीमाटी, सिदिङ, धम्पुस वा काँडे पुगेर पर्यटकले मर्दी पदयात्रा सुरु गर्न सक्छन् । फरेस्ट क्याम्प पुगेपछि मुख्य पदमार्गमा जोडिन्छन् । त्यसपछि फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प हुँदै भ्यु पोइन्ट पुगिन्छ ।

भ्यु पोइन्टबाट करिब एक घण्टा थप यात्रा गरेपछि चार हजार ५०० मिटर उचाइमा रहेको मर्दी हिमाल आधार शिविर पुग्न सकिन्छ । यही आधार शिविर यस पदमार्गको प्रमुख तथा अन्तिम गन्तव्य हो ।

हाइक्याम्पभन्दा माथि होटल तथा रेस्टुरेन्ट नभएकाले पर्यटकले आवश्यक तयारी गरेर मात्रै माथिल्लो क्षेत्रको यात्रा गर्नुपर्छ । बादलडाँडा र हाइक्याम्पमा रात बिताउने पर्यटक बिहानै भ्यु पोइन्ट पुगेर सूर्योदयको दृश्यावलोकन गर्छन् । त्यसपछि आधार शिविर पुगेर फर्कने गर्छन् ।

भ्यु पोइन्टदेखि आधार शिविरसम्म मौसम छिनछिनमा परिवर्तन हुने, कुहिरो लाग्ने र बाटो बिराएर हराउने जोखिम रहेकाले सहयोगीबिना यात्रा नगर्न बादलडाँडाका होटल व्यवसायी नेत्र तामाङ सुझाव दिनुहुन्छ ।

पदयात्रा सकेर फर्कने क्रममा अधिकांश पर्यटक लो क्याम्पबाट सिदिङ झरेर सवारीसाधनमार्फत पोखरा पुग्ने गर्छन् । सिदिङ र कालीमाटीबाट जीपमा करिब एक घण्टामा पोखरा पुग्न सकिन्छ ।

यातायात खर्चबाहेक प्रतिव्यक्ति दैनिक तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म खर्च लाग्ने व्यवसायी बताउँछन् । होटलमा खाद्यान्नलगायत सामग्री खच्चड र भरियामार्फत ढुवानी गर्नुपर्ने भएकाले अन्य कतिपय पर्यटकीय गन्तव्यको तुलनामा यहाँको बसाइ महँगो पर्ने गरेको पर्यटकको गुनासो छ ।

गोठ र खर्कबाट पर्यटकीय गन्तव्यसम्म

मर्दी हिमाल पदमार्ग सन् २०१२ देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । त्यसअघि यो क्षेत्र स्थानीयवासीका गाईभैँसी, भेडाबाख्रा र चौँरीका घुम्ती गोठ तथा चरन क्षेत्रमा सीमित थियो । पशुका घुम्ती गोठ राख्ने स्थानलाई खर्क भनिन्छ ।

माछापुच्छ्रे गाउँपालिका–९ का स्वर्गीय सुदीप गौतमको नेतृत्वमा स्थानीय समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएको गोठ जाने बाटोलाई पदमार्गका रूपमा विकास गरेका हुन् ।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) का अनुसार सुरुका दिनमा मर्दी क्षेत्रमा भकारी र चित्राले बारिएका केही भेडीगोठबाहेक पर्यटकका लागि आवश्यक पूर्वाधार थिएनन् । पदयात्रा पर्यटनको सम्भावना पहिचान गरी गौतमले गरेको निरन्तर प्रयासका कारण आज मर्दी हिमाल पदमार्ग विश्वभरका पर्यटकमाझ परिचित बनेको उहाँको भनाइ छ ।

मर्दी पदमार्गका पिताका रूपमा चिनिने गौतमको २०७९ असोज १४ गते हाइक्याम्प क्षेत्रमा भिरबाट लडेर ३५ वर्षको उमेरमा निधन भएको थियो । पदमार्गको अन्वेषण, प्रवर्द्धन र विकासमा योगदान पुर्‍याउनुभएका गौतमको सम्मानमा बादलडाँडामा सालिकसहितको पार्क निर्माण गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिका, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेश, मर्दी हिमाल पर्यटन होटल व्यवसाय व्यवस्थापन समिति र नेपाल पर्यटन बोर्डको सहकार्यमा पार्क निर्माण गरिएको हो ।

गौतमले सन् २००७ मा मर्दी हाइक्याम्पमा ‘होटेल ट्रेकर्स प्याराडाइज’ सञ्चालन गर्नुअघि फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र डुँडखर्कलगायत क्षेत्रमा होटल थिएनन् । पर्यटकले टेन्टमा क्याम्पिङ गरेर रात बिताउनुपर्ने अवस्था थियो । उहाँको पहलपछि क्रमशः होटल तथा अन्य पर्यटन पूर्वाधार विकास हुँदै गएको हो । उहाँको योगदानको स्मरणमा परिवारले मर्दी हिमाल आधार शिविरमा शिव मन्दिर निर्माण गर्ने योजना पनि अघि सारेको छ ।

पर्यटनले बढायो स्थानीय आम्दानी र रोजगारी

पदयात्रा पर्यटनको विकाससँगै मर्दी क्षेत्रका स्थानीयवासीको आर्थिक तथा सामाजिक जीवनमा पनि परिवर्तन आएको छ । होटल, रेस्टुरेन्ट, चिया पसल तथा अन्य पर्यटनसम्बन्धी व्यवसाय विस्तार भएपछि स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना भएका छन् ।

फरेस्ट क्याम्प होटल व्यवस्थापन समितिका अध्यक्ष अमृत दाहालका अनुसार स्थानीय व्यवसायीले आफ्नै गाउँमा उत्पादन भएका ताजा तरकारी, दूध, घ्यू तथा स्थानीय कुखुराबाट बनेका परिकार पर्यटकलाई खुवाउने गरेका छन् ।

“होटल तथा पर्यटन व्यवसायको विस्तारले स्थानीयवासीलाई गाउँमै रोजगारी र आम्दानीको अवसर दिएको छ,” उहाँले भन्नुभयो, “पर्यटकको आगमन बढेसँगै स्थानीय उत्पादनको खपत पनि बढेको छ ।”

पदयात्रा मार्गको तल्लो क्षेत्र गुराँसको जङ्गलभित्र पर्दछ । ढुङ्गाका सिँढी निर्माण गरी पदमार्ग व्यवस्थित गरिएको छ । यात्राका क्रममा जथाभावी फोहोर देखिँदैन । फोहोर सङ्कलन तथा व्यवस्थापनका लागि छुट्टै स्थानको व्यवस्था गरिएको छ ।

सडक विस्तारको सम्भावना न्यून रहेको यस क्षेत्रमा प्राकृतिक वातावरण र पदमार्गको मौलिकता जोगाउँदै पर्यटन विकास गर्ने अवसरसमेत रहेको छ ।

बढ्दो पर्यटकसँगै संरक्षण र व्यवस्थापनको चुनौती

मर्दी हिमाल पदमार्ग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्दछ । एक्यापले होटल तथा कोठाको सङ्ख्या निश्चित गरेकाले पर्यटकीय याममा पर्यटकको चापअनुसार आवास व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ ।

पर्यटकको आकर्षण बढ्दै जाँदा सेवा तथा पूर्वाधार विस्तारसँगै प्राकृतिक सम्पदाको संरक्षणलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।

गाउँपालिका, एक्याप, प्रदेश तथा सङ्घीय सरकारमार्फत पूर्वाधार निर्माण र पर्यटकको बसाइ व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि पहल भइरहेको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । संरक्षण क्षेत्रसम्बन्धी पुराना नीतिमा आवश्यक संशोधनका लागि समेत पहल गरिएको उहाँको भनाइ छ ।

पर्यटकको बढ्दो आगमनलाई व्यवस्थित गर्न होटलको क्षमता, विद्युत् तथा सञ्चार सुविधाको नियमित उपलब्धता, पदमार्गको स्तरोन्नति, फोहोर व्यवस्थापन, सरसफाइ, पर्यटक सूचना प्रणाली र सुरक्षाको प्रभावकारी व्यवस्था आवश्यक देखिएको छ ।

विशेषगरी हाइक्याम्पभन्दा माथिल्लो क्षेत्रमा मौसमको जोखिम, बाटो पहिचान र उद्धार व्यवस्थालाई प्राथमिकता दिनुपर्ने पर्यटन व्यवसायीको सुझाव छ ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता र छोटो अवधिमै हिमालको सामीप्यमा पुग्न सकिने विशेषताले मर्दी हिमाल पदमार्गलाई नेपालको महत्वपूर्ण पदयात्रा गन्तव्यका रूपमा स्थापित गरेको छ । पर्यटकको बढ्दो आगमनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारे पनि उचित व्यवस्थापन र संरक्षणमा ध्यान नदिए यहाँको प्राकृतिक सौन्दर्य तथा पर्यटकीय आकर्षणमा असर पर्न सक्छ ।

त्यसैले मर्दीको पर्यटन विकासलाई पर्यटकको सङ्ख्या बढाउने विषयमा मात्र सीमित नराखी प्रकृति संरक्षण, स्थानीय समुदायको सहभागिता, सुरक्षित पदयात्रा र गुणस्तरीय सेवासँग जोड्न आवश्यक छ । माछापुच्छ्रेको काखमा रहेको मर्दीको प्राकृतिक सम्पदालाई आगामी पुस्तासम्म जोगाउँदै दिगो पर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्नु अहिलेको आवश्यकता बनेको छ ।