लुम्बिनीमा धान उत्पादनः कतै वृद्धि, कतै ह्रास

कात्तिक, १८ नारायणपुर । घोराही उपमहानगरपालिका–१० नारायणपुरका किसान रामसिं चौधरी यस वर्ष धेरै खुसी देखिन्छन् । धान स्याहार्दै गर्नुभएका चौधरी विगतका वर्षभन्दा धेरै धान फलेकामा खुसी देखिएका हुन् ।

आफ्नै १५ कट्ठामा लगाएको धान यसपालि कट्ठामा चार मुरीको दरले फलेको छ । “पोहर, परार कट्ठामा तीन मुरी मात्रै फल्ने गथ्र्यो यो वर्ष धेरै उब्जनी भयो खुसी लागेको छ”, चौधरीले भने ।

त्यस्तै, घोराही–५ का किसान देवीराम आचार्य पनि विगतका वर्षभन्दा यो वर्ष धान धेरै उत्पादन भएको खुसी छन् । उनले १० कट्ठामा लगाएको धान पनि चार मुरीकै दरले फलेको छ । सिँचाइकै समस्याले दिक्क भएका आचार्यलाई यसपालि मौसमले खुबै साथ दियो । “जसोतसो रासायनिक मलको जोहो पनि अभाव हुनुभन्दा पहिल्यै गरिसकेको, मौषम र मिहिनेत पनि यस वर्ष कोरोनाले गर्दा दिन पाइयो र उत्पादन बढ्यो”, आचार्यले भने । गाउँका कसैकसैले युएस ३१२ जातको हाइब्रिड धान कट्ठामा पाँच मुरीसम्म फलाएको उनले सुनाए।

कोरोनाले व्यापार–व्यवसाय चौपट बनायो, अर्थतन्त्र तहस–नहस भयो, तर कृषि अर्थतन्त्र भने आत्मनिर्भरको अवस्थामा पुग्ने धान उत्पादनले देखाएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । “दाङ कृषिमा पहिले पनि आत्मनिर्भर नै थियो, तर यसपालि बिक्री गर्ने हैसियतमा पुगेको हाम्रो अनुमान छ”, कृषि ज्ञान केन्द्र घोराहीका कृषि अर्थविज्ञ उमेश श्रेष्ठले भने ।

अहिले उत्पादन बढेको भए पनि जिल्लाको उत्पादनलाई अझै केही वृद्धि गर्न सकिने अवस्था रहेको उनले बताए। समयमा पर्याप्त मात्रामा रासायनिक मलको व्यवस्थापन र बर्सात नभएको अवस्थामा पनि नियमित सिँचाइको व्यवस्थापन गर्न सके यहाँ धानबालीको प्रशस्तै सम्भावना रहेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार अघिल्लो वर्ष दाङमा ३७ हजार ७१० हेक्टरमा धानखेती भएको थियो । त्यसमा एक लाख ६९ हजार ६९५ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष दाङमा धानबाली लगाउने जग्गाको क्षेत्रफल बढेसँगै उत्पादन पनि अपेक्षित रुपमा वृद्धि भएकोे अनुमान ज्ञान केन्द्रले गरेको छ ।

यो वर्ष उपयुक्त समयमा पानी पर्नु र कृषि जनशक्तिको अभाव नहुनुले पनि धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । कार्यालयले तयार गरेको तथ्याङ्कमा यो वर्ष करीब ७८७ हेक्टर थप क्षेत्रमा धानबाली लगाइएको थियो । “यो वर्ष धेरै एरिया बढेको छ, बाँझो जग्गा प्रयोगमा आएको थियो, पक्कै उत्पादन बढेको छ”, कृषि अर्थविज्ञ श्रेष्ठले भने । अहिलेसम्म पालिकाले दिएको तथ्याङ्कलाई हेर्दा अनुमानित एक लाख ८० हजार मेट्रिक टन धान उत्पादन हुने देखिएको श्रेष्ठको भनाइ छ ।